Copyright © 2010 shyam's blog by Ashesh | Login
पुस्तक समीक्षा : जीवन र मृत्युको सन्दर्भमा
डा. सौरभ आचार्य
सन्दर्भ जीवन र मृत्युको हो, र सन्दर्भ कवि श्यामसुन्दर श्रेष्ठको हालसालै प्रकाशित कविता संग्रहको हो । यदि जीवनलाई तन्किएको वाद्ययन्त्रको तारसँग तुुलना गर्ने हो भने हामी हाम्रो नियतिको दुई टुङ्गो बिच त्यसरी नै तन्किएको हुन्छौ, र विविध भावका जीवन संगित प्रवाह गरिरहेका हुन्छौं । यस्तै कुनै महान् आयोजना बिच च्वाट्ट चुँडिन्छ जीवनको तार । एकछिनको स्तब्धता, अनि संसार फेरि पुरानै क्रममा चलिरहन्छ । तर महत्व कुन कुराले राख्छ भने आफ्नो धुुनले कति जनाको ह्रदय छुन सक्यौं, कतिका संवेदनाहरुमा तरंगित हुन सक्यौं । कवि श्यामसुन्दरको सुन्दर जीवनको एउटा मधुर धुनको रुपमा आएको छ, यो कविता संग्रह “जीवन र मृत्युको संदर्भमा” ।
सबै जसो कविताहरु आजभन्दा दुई दशक पहिले लेखिएका छन्, तर भावहरु भने उत्तिकै शाश्वत लाग्छन् आज पनि । मृत्युलाई पनि जीवन जतिकै महान् सत्यका रुपमा स्वीकारेका छन् कविले, र यही चेतनाले नै उनलाई जीवनका प्रत्येक क्षणहरुमा अन्धकारबाट उज्यालोतिरको यात्रामा प्रेरित गरिरहेको देखिन्छ । हरेक बाँच्नुमा बाँच्नुको सार्थकता खोजिएको छ कविताहरुमा ।
हामी युगको अत्यन्त महत्वपूर्ण बिन्दुमा छौं । आज नयाँ देश बनाउने संपूर्ण अभिभार हाम्रो काँधमा छ । क्रान्तिको श्रृंखला सकिएको छैन, बास्तविक अर्थमा कठिन यात्रा बल्ल शुरु भएको छ । अटुट साहस, र अनवरत जोशले रक्तसिंचित हुनु पर्दछ हामी नेपालीे र मात्र नयाँ नेपालको सुन्दर सपनाले सजीव आकार लिएको हामी पाउने छौं । र कविले भने जस्तै “त्यो अवश्य ल्याइने छ”, मुक्तिको राँको दन्किएपछि हठात् अन्त भएको रात पछिको झिसमिसमा हामी छौ, र सुन्दर विभेद रहित मुक्त दिनबाट धेरै टाढा छैनौं ।
कवितात्मक रुपमा सन्देश दिएका छन् कविले भाई र बहिनीहरुलाई । नव पींढीहरुलाई कहिलेकाही पत्तो हँुदैन कहिले जिन्दगीले मुलबाटो भुलेर हिंड्न थाल्छ र थाहा पाउँदा फर्किआउने गोरेटो मेटिइसकेको हुन्छ । कवि नयाँ विहानीका कलिला कर्मयोद्धाहरुलाई आफ्ना बाटोका काँढा पन्छाएर जीवनको सार्थक यात्रा अरुलाई पनि सुगम बनाइदिन आग्रह गर्छन् ।
कवि यस भूमिको संरक्षण गर्न उद्दत छन् पेशागत रुपमा नै । यही माटोसँग भिज्दा र यिनै बनस्पति र रमणीय धर्तीसँगको संसर्गले उनीभित्रको कवित्व अझ प्रस्फुतित भएको पाएका छु । संख्यात्मक रुपमा एक लघु संग्रह भए पनि कविताका स्पष्टता र आदर्श आग्रहले संग्रहको गुणात्मकता बढाएको छ । भावहरुमा अझ बढी विविधता भएको भए संग्रह अझ सरस हुने अनुभव गरे पनि प्रथम संग्रहका मसिना कमजोरीहरु नगण्य झैं नै लाग्दछन् ।
नयाँ नेपालको बिहानीमा उदाएको यो काव्यदीपक साहित्यको खुला आकाश मुनि अविछिन्न प्रज्वलित होस्, शुभकामना !!

January 7, 2010 at 9:53 pm
श्याम हामी पहिले पनि कविता लेख्थ्यौं हैन र?
साथी कस्तो चाहिन्छ?
“मनको साथी नपाए सम्म हुदैन रमाइलो”
मिरमिर पछि उज्यालो भयो भएन घमाइलो
यो मनको साथी नपाए सम्म हुदैन रमाइलो।
कुहिरो ढुँडी उडेर गयो आएन वसन्त
मनको त्रास वढेर आयो भएन एकान्त।
मनका कुरा हिमाल माथी हावाझैं चिसिए
एकान्त मनको सितल पवन राँकोमै मिसिए।
तापनि मेरो छल्केको मुटु सगरमाथामा
डुबुल्किमार्न खोजेको हुन्छ त्यो म्रित सागरमा।
म मस्किदिन्छु ति तिम्रो हाँसो मुस्केकै भरमा
ति हाँसो उडे त्यो सेतो ढुडि उडेझैं बगरमा।
म झस्किदिन्छु ढुङ्गाको चट्टान पुरानो चिहानमा
फर्केर फेरि आँउछु भन सुनौलो विहानमा।
खुसिले भन्छु यो मनभित्र आउनेछ घमाइलो
मनको साथी नपाए सम्म हुदैन रमाइलो।।
January 12, 2010 at 12:15 pm
Thank u Keshav!