Subscribe to RSS Feed

अलिमियाँ लोक बाङमय प्रतिष्ठानबाट बागमती अञ्चलका आठ साहित्यिक स्रष्टाहरु सम्मानित

बनेपा, कार्तिक २० । महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी समारोहको सन्दर्भ पारेर अलिमियाँ लोक बाङमय प्रतिष्ठान पोखराले बागमती अञ्चलका आठ साहित्यिक एवं साँस्कृतिक स्रष्टाहरुलाई सम्मान गरेको छ ।

“जनमत” बाटिकाको संयोजनमा बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा लोक गायिका श्रीमती हरिदेवी कोइरालाले अलिमियाँ लोक बाङमय प्रतिष्ठानको परिचय दिनु भएको थियो भने कार्यक्रमका संयोजक एवं जनमतका प्रधान सम्पादक श्री मोहन दुवालले सम्मानित आठ जना स्रष्टाहरुको परिचय दिनु भएको थियो । त्यसपछि सम्मानित स्रष्टाहरुले पनि आआफ्ना गीत कविता सहित मन्तब्य दिएका थिए । समारोहका अर्का आकर्षक लोक गायक श्री राजु परियारले अलिमियाँले रच्नु भएको एक गीत गाउनु भयो भने बनेपाकै लोक गायक श्री मच्छेश्वर सापकोटाले ब्यंगात्मक कविता तथा गीतहरु पस्कनु भयो ।

समारोहका प्रमुख अतिथि तथा नेपाली स्रस्कृतविद् श्री हरिराम जोशीबाट सम्मानित आठ स्रष्टाहरुलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो भने अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्ष एवं अलिमियाँका जेष्ठ सुपुत्र श्री हनिफ मियाँले खादा तथा सयपत्री फूलको माला लगाई स्रष्टाहरुको सम्मान गर्नु भएको थियो । उक्त समारोहमा पोखराबाट प्रकाशित हुने गरेको राष्ट्रिय दैनिक आदर्श समाजका प्रधान सम्पादक श्री कृष्णप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम संचालन÷उदघोषण जनमतका सम्पादक श्री रामसुन्दर देउजाले गर्नु भएको थियो । समोहका सभापति तथा अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्ष श्री हनिफ मियाँले आफ्ना पिता श्री अलिमियाँको लोक साहित्यमा रहेको अनुराग र लगाव बारे रोचक कवितामय प्रस्तुति मार्फत उपस्थित सवैलाई जानकारी गराउँदै कार्यक्रमको समापन गर्नु भएको थियो । श्री हनिफ मियाँले बनेपाका केही संघसंस्थाहरुलाई अलिमियाँ लोक बाङमय प्रतिष्ठानबाट प्रकाशित भएका केही पुस्तकहरु एपहार समेत दिनु भएको थियो । आयेजकले कार्यक्रम संचालन हुनु अघि बनेपा भिलेज रिसोर्टमा दिवा खाना र समापन पछि खाजाको पनि राम्रो ब्यवस्था गरेको थियो ।

सम्मानित स्रष्टाहरु ह्ुनुहुन्थ्यो ः श्री तेजेश्वर वावु ग्वंग, भक्तपुर, श्री नरेन्द्र बहादुर श्रेष्ठ, काठमाडौं, प्रा. डा. श्रीमती सुष्मा लुईटेल आचार्य, ललितपुर, श्री श्यामसुन्दर श्रेष्ठ, रसुवा, श्री आरएम डंगोल, नुवाकोट, श्री छविरमण सिलवाल, काभ्रे, श्री त्रिलोचन आचार्य, सिन्धुपाल्चोक, श्रीमती सुविसुधा आचार्य, धादिङ । यसरी हालसम्म यो सम्मान पाउने  बागमती अञ्चलका आठ जना सहित १४ अञ्चल ७५ जिल्लाका गरी जम्मा १२९ जना पुगेको कुरा अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्षले जानकारी गराउनु भएको थियो ।

Leave a Reply